April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

सञ्चालक पक्राउ परेपछि चिनी उद्योगले दियो उखु कृषकलाई भुक्तानी

रुपन्देही । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेलगत्तै उद्योगले उखु किसानहरुलाई भुक्तानी दिन शुरु गरेको छ । पश्चिम नवलरपरासीको सुनवलस्थित सो उद्योगले किसानलाई कुल ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

Advertisement

खातामा पैसा भएर पनि अग्रवालले विभिन्न बहाना बनाएर किसानलाई पैसा नदिएको गुनासो बढ्दै गएको थियो । बिहीबार वीरगञ्जमा सञ्चालक अग्रवाल पक्राउ परेपछि भने उद्योगका कर्मचारीले किसानलाई सम्पर्क गरेर भुक्तानी दिन थालेका हुन् । उद्योगले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाएपनि किसानहरुलाई भुक्तानी भने दिएको थिएन ।

उद्योगले जिल्लाका किसानहरुलाई ईसेवाबाट भुक्तानी दिन सुरु गरेको हो । बिहीबार साँझसम्म उद्योगले किसानहरुको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरी सकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिएका छन् । उद्योगका सञ्चालकलाई भुक्तानीको अवस्था र सुनिश्चितताबारे सोधपुछ गर्न वीरगञ्जबाट नवलपरासी बोलाइएको पाठकले बताएका छन् ।

अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक विजयकुमार गुप्ता बिहीबार दिउँसो जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रकृया सुरु गरिएको र पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

उद्योगका प्रबन्धक गुप्ताले अहिले २ करोड जम्मा गरेर भुक्तानी दिन सुरु गरेको बताएका छन् । हप्ता दिनभित्र अरु २ करोड जम्मा गरेर फेरि भुक्तानी दिने र शुक्रबारसम्म बैंक ग्यारेण्टी मार्फत पुस मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी दिने गुप्ताले प्रतिबद्धता जनाएका छन् । भुक्तानीपछि माघ १ बाट उद्योग नियमित सञ्चालन गर्ने पनि उनले बताएका छन् ।

उद्योगका सञ्चालक मनिष अग्रवालको निधन भएपछि अंशवण्डामा उक्त उद्योगको स्वामित्व मृतकका भाई मनोजले लिएका हुन् ।

त्यसैगरी, इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल काठमाण्डौंमा रहेको र प्रहरीले निगरानी बढाई रहेको प्रजिअ पाठकले बताएका छन् । इन्दिराले ५ करोड भुक्तानी दिन बाँकी रहेको छ । उद्योगले ८० लाख रुपैयाँ खातामा जम्मा गरेको भएपनि किसानलाई भुक्तानी दिएको छैन । ठगी मुद्दा दर्ता भएकाले उनी पक्राउ परे लगत्तै कारबाही प्रकृया अघि बढाएर किसानको रकम तिर्न लगाउने प्रजिअ पाठकले बताएका छन् ।

जिल्लामा रहेका ३ चिनी उद्योगमध्ये हाल बागमती चिनी उद्योग मात्र सञ्चालनमा छ ।

सञ्चालक पक्राउ परेपछि भुक्तानी पाएका किसानले अरु संचालकलाई पनि यसैगरी कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् ।