May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

नेकपाको स्थायी समिति बैठक आज बस्दै,अध्यक्ष ओली पनि सहभागी हुने

काठमाडौँ— प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यवस्थालाई ध्यानमा राखेर नेकपाले स्थायी कमिटी बैठक बालुवाटारमा नै सारेको छ ।

Advertisement

धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डामा सहमति जुटेपछि आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरूले बताएका छन् । सहमति नजुट्दा ओली मंसिर २१ को स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

ओलीबिनै बसेको मंसिर २१ को बैठक एक साताका लागि स्थगित भएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् ।

खासगरी प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन फिर्ता गर्नुपर्ने पक्षमा छन् भने प्रचण्ड दुवै प्रतिवदनमाथि छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने भन्दै प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।

यो बीचमा केही नेताहरुले नेकपाको विवाद समाधान गर्न दुवै अध्यक्षका प्रतिवेदन स्थगित गरेर अर्कै प्रतिवदन बनाउन सकिने भन्दै नेताहरुलाई कन्भिन्स गर्न खोजेपनि त्यसमा प्रचण्ड सहमत हुन सकेका छैनन ।

गत २४ मंसिरमा ओली र प्रचण्डबीच भएको भेटमा सहकार्यका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका थिए । त्यसयता उनीहरूबीच संवादसमेत भएको छैन ।

प्रचण्डले कमिटीबाहिर हुने छलफल र संवादको औचित्य नभएको बताउँदै आएका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।

दुवै अध्यक्षको प्रतिवेदनलाई औपचारिक छलफलको विषय बनाउन नहुने ओली पक्ष देखिएपछि प्रचण्ड–नेपाल समूहले भने दुवै प्रतिवेदनलाई अल्पमत र बहुमतकै विधिबाट छिनोफानो गरेर केन्द्रीय कमिटीसम्म छलफलमा लैजाने गरी तयारी गरेको छ ।