May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

अहिले राष्ट्रपतिलाई चिथोर्ने ‘कम्पिटिसन’ चलेको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई राजनीतिक विवादको निरुपण गर्ने थलो बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

Advertisement

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशित गरेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मन्त्री पदमा रहँदा सार्वजनिक कार्यक्रममा दिएका मन्तव्यहरूको संकलन समेटिएको सहित विभिन्न चार पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका-टिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । गणतन्त्रप्रति वैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको उनको विश्लेषण छ । उनले भने, ‘मैले एकपल्ट भनेको थिएँ रिसाएको बिरालोले खाँबो चिथोर्छ । राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ‍ठूलो हुने कम्पिटिसन चल्या छ ।’

राजनीतिक निर्णयहरू राजनीतिक संस्थाहरूले नै गर्नुपर्ने ओलीको भनाइ थियो । उनले मन्त्रीहरू हटाउने निर्णयमा ‘सेटिङ’ भएको आशंका पनि गरेका छन् । ‘मन्त्रीहरू सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो खुच्चिङ पर्‍यो भन्ने होला,’ प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ मा नियुक्त मन्त्रीहरूलाई हटाउने सर्वोच्चको आदेश लक्षित गरेर ओलीले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि एउटा गजबको छ ।

धादिङमा अघिल्लै दिन भने, मन्त्रीहरू भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । अथवा न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा हल्ला छ नि सेटिङ भन्ने !’उनले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने ।

प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोज्ने । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि… । अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’