May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको भर्चुअल शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । रुपन्देहीको सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।

Advertisement

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उहाँले कोभिड १९ महामारीको दोस्रो लहर सुरुभएपछि अक्सिजनको तिव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उहाँको भनाई थियो ।सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गर्दै अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

अचानक बढेको उच्चमागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निश्कर्षमा सरकारका पुगेको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।

दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्वीड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देश प्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।