April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

संवैधानिक इजलास- ओली पदमुक्त भइसके, अदालतले अन्तरिम आदेश जारी गर्नुपर्छ – शम्भु थापा

काठमाडौं ।वरिष्ठ अधिवक्ता शम्भु थापाले पदमुक्त भइसकेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले स्वाभाविक रुपमा अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने जिकिर गरेका छन् ।

Advertisement

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा पक्षमा बहस गर्दै उनले प्रतिनिधिसभामा नपुगिकन विश्वास मत यसले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले भन्न नमिल्ने समेत जिकिर गरे । उनले भने, ‘पदमुक्त भएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको हुनाले अन्तरिम आदेश जारी हुनुपर्छ ।’

वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरिसकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा छन् । चिया ब्रेकपछि थप छलफल हुने इजलासबाटै न्यायाधीश ईश्वर खतिवडाले बताए । यसअघि बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नु पर्ने जिकिर गरेका थिए । थापाले राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको भन्दै धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरे ।

थापाले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो । ओलीजी विश्वासको मत नपाएकोले पदमुक्त अवस्थामा हो । संसदीय प्रजातन्त्र हाम्रो संविधानले रक्षा गरेको छ । धारा ७६ को व्यवस्थाले संसदीय व्यवस्थासंग जोडिएको छ । यो कार्यान्वयन नहुदा संविधान नै फेल हुन्छ ।’