May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

धर्मकीर्ति विहार निर्माणका लागि रु दुई करोड १८ लाख सहयोग

काठमाडौँ महानगरपालिकाले धर्मकीर्ति विहारको विस्तारित भवन निर्माणका लागि रु दुई करोड १८ लाख अनुदान रकम उपलब्ध गराएको छ । उक्त भवन निर्माणका लागि कामपा प्रमुख विद्यासुन्दर शाक्यले विहारका गुरु धम्मावतीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त भवन निर्माणका लागि २०७७ मङ्सिर २० गते भवन प्रमुख शाक्यबाट नै शिलान्यास भएको थियो ।

Advertisement

सहरभित्रका सम्पदालाई काठमाडौँबाहिरका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापनका काम गर्ने र यसबाट स्थानीयवासीको आयमा वृद्धि गर्ने योजनालाई आफूले प्राथमिकता राखेको बताउँदै शाक्यले बज्रयानी विहारको निर्माण र बौद्ध परियत्ति शिक्षालाई प्रवद्र्धनमा जोड दिएको उल्लेख गर्नुभयो ।

विहारको विस्तारित भवनको लागत रु चार करोड २८ लाख हो । कामपाले २०७७ साउन महिनामा विहारको सभाकक्षलाई आवश्यक पर्ने ध्वनि र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र एक रोल केवलसमेत प्रदान गरिसकेको छ ।

यसरी उपलब्ध गराइएका सामानमा साउन्ड मिक्स्चर, माइक, बेबी लाइटलगायत थिए । महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयवासीलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ ।

यस्तै बौद्ध शिक्षा अध्यापन गराउन महानगरले ल्यापटपलगायत शैक्षिक सामग्री उपलब्ध गराएको छ । कार्यक्रममा बौद्ध परियत्ति शिक्षा उत्तीर्ण ५९ जना विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । बौद्ध शिक्षाका लागि नेवार समुदायसँगै तामाङ, शर्मालगायत थरका विद्यार्थीहरु हुनुहुन्छ । यस केन्द्रबाट परियत्ति शिक्षा अध्यापनका लागि कामपाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

त्यसैगरी कामपाले पुनर्निर्माणका लागि माग भएर आएका जनबहाल (सेतो मत्स्येन्द्रनाथ) को दिगिछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किमडोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र र लुम्बिनीको वज्रयान महाविहार निर्माण गर्न सहयोग गरेको छ ।