May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो ।

Advertisement

आज कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा डा शिवराज अधिकारी, वसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी रहनुभएको छ ।

बैठकमा उप्रमुख खड्गीले स्थानीय सरकार सञ्चालनका लागि प्राप्त संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई दिएका जिम्मेवारी, सेवा प्रवाह, नगरसभा र कार्यपालिका बैठकबाट गरिएका निर्णयहरुलाई आधार मानेर कार्यविधिमार्फत अनुगमनलाई एकीकृत र नतिजामुखी बनाउनुलाई लक्ष्य मानेर काम गर्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले अनुगमनको उद्देश्य स्पष्ट हुनुपर्ने बताउँदै मापन गर्न सकिने सूचक र अनुगमनपछिको मूल्याङ्कनबाट परेको प्रभाव हेर्न सकिने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी सङ्घसंस्थाहरुले गर्ने कार्यक्रमहरु, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरको अनुगमन क्षेत्रमा पर्छन् ।

कामपाले महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ जारी गरिसकेको छ । स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरेको छ । यसबाट स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने आशा कामपाको छ ।