May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

ओलीको चीनसँग निकटता, भारत र अमेरिकासँग तिक्तता

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विश्व परिवेशमा परिवर्तित राजनीतिक परिस्थितिको विश्लेषण गरिएको छ । उनले बहुध्रुवीय विश्वको व्याख्या गर्दै अमेरिकाको एकल प्रभुत्व समाप्त भएको विश्लेषण गरेको देखिन्छ ।
उनले राजनीतिक प्रतिवेदनमा विश्व शक्ति सन्तुलनमा तिव्र परिवर्तन देखा परेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘लामो समयसम्म युरोप अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय, शक्तिशाली राष्ट्रका रुपमा रुसको पुनरागमन, ब्रिक्स, सांघाई सहकार्य संगठन लगायत क्षेत्रीय शक्ति र संगठनहरुको भूमिकाले चुनौती दिएका छन् ।’

Advertisement

चीनको उदयको विषय उठाइरहँदा उनले खुलेर प्रशंशा गरेका छन् । चीनले प्राप्त गरेको उपलब्धिका लागि बधाई पनि दिए । ‘चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा चीनले हासिल गरेको प्रगति अभूतपूर्व छ,’ ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

चीनले औसतरुपमा समृद्ध समाजवादी राष्ट्र बन्ने पहिलो शताब्दी लक्ष्य हासिल गरेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनालाई बधाई दिएका छन् ।

भारतप्रति भने ओली आक्रामक बने । उनले राजनीतिक प्रतिवेदनमार्फत् भारतलाई हस्तक्षेपकारीका रुपमा प्रस्तुत गरे ।

उनले भनेका छन्, ‘भारतसँगको व्यापार घाटा, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, नेपालको आन्तरिक मामलामा हुने अनावश्यक चासो र हस्तक्षेप जस्ता विषयमा नेपालको चासो र सरोकार छन् ।’ उनले भारतलाई हस्तक्षेपकारी भनी उल्लेख गरेका छन् ।

२०७२ सालको नाकाबन्दीमा भारतको भूमिका रहेको राजनीतिक प्रतिवेदनमा भनेका छन् । संविधान जारी गर्नबाट रोक्न भारतले दबाब दिएको भन्दै प्रतिवेदनमा आलोचना गरेका छन् ।

अमेरिकाप्रति पनि ओलीको राजनीतिक प्रतिवेदन नकारात्मक देखिएको छ । उनले एशिया प्रशान्त क्षेत्रमा अमेरिकाले सारेको नीति र विश्व प्रतिष्पर्धाको केन्द्र बनेको विषय बारे व्याख्या गर्दै भनेका छन्, ‘इन्डो-प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित छ ।’

अफगानिस्तानमा अमेरिका र नेटो गठबन्धनका सैनिकहरु बीस वर्षपछि पछि हटेको भन्दै ओलीले भनेका छन्, ‘जुन सुकै बहानामा गरिए पनि बाह्य हस्तक्षेप र आक्रमण गलत हो ।’ उनले अफगानिस्तान घटनाको बाछिटा दक्षिण एशियामा पर्न सक्ने र भूराजनीतिक तनाव सृजना हुन सक्ने सम्भावनालाई नेपालले पनि ख्याल गर्नुपर्ने भनेका छन् ।

ओलीले चीन र भारतसहित नेपालले त्रिदेशीय सहकार्यको सम्भावना औल्याएका छन् । उनले चीन र भारतबीच मतभिन्नता अन्त्यको आशा व्यक्त गर्दै भनेका छन्, ‘यसले विकास र सहयोगको त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ ।’

चीन र भारतबीच सुरु हुन लागेको संवाद, समझदारी र सहकार्यलाई तनाव र सीमा समस्याले विस्थापन गर्दै लगेको राजनीतिक प्रतिवेदनमा भनेका छन् । यसको असर दक्षिण एशियामा देखिएको, पाकिस्तानसँग पनि भारतको तनाव जारी रहेको उल्लेख गरेका छन् । ‘भारतसँग नेपाललगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय अझै समाधान हुन सकेका छैनन् ।’ उनले भनेका छन् ।