May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

मनाङमा बाढीको जोखिममा रहेकाहरूको उद्धार गर्दै नेपाली सेना

बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ ।

Advertisement

बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो ।

उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो ।सेनाको हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँका मानिसलाई पनि उद्धार गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताउनुभयो ।

बाढीका कारण मनाङको ताल गाउँ, चामे लगायतका ठाउँका झन्डै ६ सय जना विस्थापित भएका छन् । मङ्गलवार(अस्ति) आएको बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।

बाढीले तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृहमा पनि नोक्सानी गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आजै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पनि मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।