May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

नेपाली सेनाद्वारा निर्माण भएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपाल फर्किनेको सङ्ख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षणको कामसमेत सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण काम सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

Advertisement

यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभएको छ । “एउटा निर्माणको काम पूरा भएको छ, अर्का होल्डिङ सेन्टर निर्माणको काम पूरा गर्न तोकेता गरेका छौँ”, पाण्डेले भन्नुभयो, “पहिला निर्माणको काम पूरा गरौँ, अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन ।”

गत असार ३ गतेदेखि सुरु गरिएको निर्माणको काम पाँच महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्सातका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । उक्त होल्डिङ सेन्टर निर्माणका लागि रु २७ करोड ६७ लाख ८२ हजार ५३५ मा श्री हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।

सञ्चालनमा अन्योल

होल्डिङ सेन्टर निर्माणको काम पूरा भए पनि सञ्चालनमा भने अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ । “निर्माण गरिएको छ, यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन”, पाण्डेले भन्नुभयो, “सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ ।”

एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर स्थानीय तहले सञ्चालन गर्न नसक्ने नगर प्रमुख शाहले बताउनुभयो । “त्यसै त पालिकामा स्रोतको अभाव छ, यति ठूलो होल्डिङ सेन्टर नगरले सञ्चालन गर्न सक्दैन”, शाहले भन्नुभयो । प्रदेश वा केन्द्रले होल्डिङ सेन्टर सञ्चालनको जिम्मा लिनुपर्ने उहाँको भनाइ छ ।