May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

एमाले र जनता समाजवादी पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन। खुमलटारमा मंगलबार आयोजित एक कार्यक्रमा उनिहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन।

Advertisement

उक्त कार्यक्रमा प्रचण्डले सिंगो पार्टीको ध्यान अहिले बिचारको विकास गर्ने, बिचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने रहेको बताएका छन् । प्रचण्डले भने, ‘त्यसकारण अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो ध्यान चै अब समाजवादी क्रान्तिको विकास अब कसरी विकास गर्ने भन्नेमा छ ।’

उनले मधेसकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको बताए । उनले भने, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादी प्रति उत्साह देखेको छु ।’

अध्यक्ष प्रचण्डले अहिले मधेसी जनता र वुद्धिजीविहरु माओवादी प्रतिको भ्रमबाट मुक्त हुँदै गएको देखिएको बताए । उनले भने, ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ ।’

मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्र बाहेक अरु कसैको पनि बिचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । प्रचण्डले भने, ‘त्यसैले हामी पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।’

उनले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे । पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेसका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताएको थियो । झन्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिय।