May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् ।

Advertisement

साँफेबगर नगर कमिटीको बैठकमा रावलले भने, ‘तपाईंहरु जेमा उठ् भन्नु हुन्छ, त्यसैमा उठ्छु । यदि तपाईंहरुको पनि यहाँ केही छ भने भनिहाल्नुहोस् ।’ फ्लोरबाट आवाज आयो, ‘अध्यक्षमा ।’

कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ । उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् । नेता रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

यसपछि रावलले भने, ‘प्रस्तावै रहेछ । म यो आवाजलाई कमजोर हुन दिन्नँ ।’ उपाध्यक्ष रावलले हार्ने जित्नेको चिन्ता नगर्न पनि आग्रह गरे । ‘यो दशौं राष्ट्रिय महाधिवेशनमा तपाईंहरुको स्वाभिमान, भावनालाई झण्डा चाहिँ बलियो गरी समात्छु । हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस्’, उनले भने ।