May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

तीनै तहको चुनावमा पाँच दल मिल्छौं, स्थानीय चुनाव अर्को वर्षको चैतमा: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने बताएका छन। साथै उनले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताए । रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको बताए ।

Advertisement

‘चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ । ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘संविधानमा गाउँ/नगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ। उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ।’

साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको दाबी गर्दै उनले भने – ‘प्रतिपक्षबाट आशा गर्ने ठाउँ रहेन। ‘हामी लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेका छौं।’

साथै अध्यक्ष नेपालले अबको चुनावमा सत्तारूढ गठबन्धनका पाँच दल सँगै जाने पनि बताएका छन्। नेपालले भने, ‘हामी पाँच दल मिलेरै चुनावमा जान्छौं । आउने असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं । यसमा छलफल चलिरहेको छ । अहिले देखि नै तयारी गर्नुपर्छ । पार्टी प्रवेश अभियान प्रशिक्षण अभियान चलाउनुपर्छ ।’ अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी अध्यक्ष नेपालको थियो।