May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

माओवादी राष्ट्रिय सम्मेलन: १,५३३ जना प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागि हुने भएका छन् ।

Advertisement

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् ।माओवादी केन्द्रका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।

त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ । प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।

 

राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताए । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने छ । उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए ।

ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताए । साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ ।उनले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता भएको भन्दै पार्टी त्यसबाट विचलित भएनभएको सम्बन्धमा गम्भीर समिक्षा सम्मेलनमा हुने बताए ।

‘हाम्रो सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवादलाई हो । त्यसको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो । कतै त्यो बाट विचलित त भएनौँ भन्नेमा पनि हामी समिक्षा गर्छौ’ महराको भनाइ छ । उनले पार्टी निर्माणमा केन्द्रीकृत अभिव्यक्ति दिने, एकतावद्ध हुने, क्रान्तिका बाँकी कार्यभारलाई सम्पन्न गर्ने बताए । ‘तर परम्परागत ढंगले क्रान्ति होइन, नयाँ ढंगले कसरी सम्पन्न गर्न सकिन्छ र नेपाली जनताको रुपान्तरणको सपनालाई कसरी पुरा गर्ने भन्ने कुरामा केन्द्रीत छौँ’, प्रवक्ता महराको भनाइ छ ।