May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

न्यायपालिकाको गतिरोधको यथाशिघ्र निकास हुनुपर्दछ- राजनीतिक समन्वय समिति

पाँच दलीय सत्ता गठबन्धनले न्यायपालिकाको गतिरोधको यथाशिघ्र निकास हुनुपर्ने प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको पाँच दलीय गठबन्धन राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति ध्यानाकर्षण जनाउँदै सम्बन्धित सबै पक्षबाट छिटो निकास दिने दिशामा पहल गर्न आह्वान गरेको हो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्ने निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित सबैलाई छिटो निकास दिने दिशामा पहल गर्न आग्रह गरेको छ । ‘राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्ने गरी यथाशिघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ’, संयोजक रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामा न्यायिक विचलन देखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशका साथै बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको बेला समितिले पनि यथाशीघ्र निकासमा जोड दिएको हो । यस्तै बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ ।

मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक बसेको हो । बैठकमा गठबन्धन दल आवद्ध शिर्ष नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।