May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

एमाले स्थायी कमिटी बैठक जारी, तीन नेतालाई निलम्वनको तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।

Advertisement

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावलसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो । देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका निम्ति नेता नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।

स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ । ‘अहिले नै निष्काशनको तहमा पुगिन्न होला, तर निलम्बनको तयारी छ’, स्रोतले भन्यो ।

यसअघि एमालेले नेता नेपालसहित चार नेतालाई निलम्बनको निर्णय गरेका थिए । तर गएको ३० वैशाखमा ओलीले कारबाही फिर्ता लिने निर्णय गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताए ।

अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ ।