बुढानिलकण्ठमा बैठक : माधव नेपाललाई पनि बोलाइयो
काठमाडौं । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थाल्नुभएको छ ।
देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थाल्नुभएको हो । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस–माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल हुन लागेको एक स्रोतले बताएको छ । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए ।
आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको कांग्रेसले जनाएको छ । राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्म दावी पेश गर्न दिएको समयसीमाभित्र बहुमत दावी गर्ने तयारी देउवा र प्रचण्डको छ । जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ ।
माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान गणितभित्रबाट ओली विरोधी गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ । नेपाल पक्षलाई पनि बैठकमा बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिकृया दिनुहोस्