May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ ।

Advertisement

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र एक्लिएनु भएको छ । २२ जनाभन्दा बढि सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएपछि ठाकुर संकटमा पर्नुभएको छ ।

पछिल्लो समय ठाकुरलाई राजेन्द्र महतोले साथ दिँदै आउनुभएको छ । तर, पहिलेको सहमतिअनुसार महतोले संसदीय दलको नेतामा दाबी गरेको तर ठाकुरले दिन नमानेपछि यी दुई नेताबीच विवाद चर्किएको हो ।

महतोकै कारण ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई सघाउनेगरि थालेको सांसदहरुको हस्ताक्षर अभियानसमेत प्रभावित बनेको छ । उता, प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा विश्वासको मत दिन नहुने पक्षको नेतृत्व गरेका अर्का अध्यक्ष उपेन्द्र यादव भने अब पार्टीको बैठक राखेर एउटा निर्णयमा पुग्ने तयारीमा गर्नुभएको छ।

यसको लागि उहाँले नेता महतोसँग पछिल्लो समय लगातार छलफल गर्नुभएको छ । पार्टीले अब विश्वासको मत दिने वा नदिनेबारे एकमतले निर्णय गर्ने दोस्रो तहका नेताहरुको दाबी छ । अब छिट्टै पार्टी संसदीय दल र कार्यकारिणी समितिको बैठक बस्छ ।

अनि एउटा निर्णय गर्छ ।’जसपानिकट उच्च स्रोतकाअनुसार यादव र महतोबीचको पछिल्लो भेटवार्तामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सहमति भएको छ । बरु, यसको लागि महतोलाई दलको नेता बनाउन यादवले सघाउने पनि वचन दिएको एक स्रोतले बतायो ।