May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

राजनीतिक समागर्मीका कारण कोरोना ओझेलमा, जोखिम झन् बढ्दो

पौष २३ । नेपालमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमण दिनानुदिन देखिनै रहेको छ । विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ । सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन् ।

बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । “पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो, दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ ।”, मरासिनी भन्छन् । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ । नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन् । यस्तो कृयाकलापले अवस्था झन् जटिल बनाउने सम्भावना छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको छ ।

Advertisement