May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

२०२० मा ८० प्रतिशतले पर्यटक घटे

पुस १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अपेक्षाविपरीत पर्यटक आगमन घटेको जनाइएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले खस्किएको छ । अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७२ हजार ७२ रहेको थियो ।

समग्र विश्व समुदायलाई कोरोना महामारीले प्रभाव पुर्याउँदा भ्रमण वर्षले राखेको लक्ष्य पूरा गर्न नेपाललाई कठिन भयो । भूकम्पपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन महामारीले एकैपटक थपा पर्‍यो । कोभिडकै कारण गत वर्ष नेपालले अन्तरराष्ट्रिय उडानमा ९ महीनाभन्दा बढी समय प्रतिबन्ध लगाउँदा पर्यटक आगमन ठप्प भएको थियो । अध्यागमन विभागका अनुसार २०२० मा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ३२० जनाले नेपाल भ्रमण गरेका छन् । यसपछि चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये हवाई मार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० जना पर्यटक नेपाल आएका छन् भने स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका उल्लेख छ ।

महामारीकै कारण पर्यटक आगमनमा कमी आए पनि सन् २०२० मा भएका केही भीआईपीहरूको नेपाल भ्रमणले आउने दिनमा बाह्य पर्यटकलाई नेपाल ल्याउन सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ । यो खबर आजको आर्थिक अभियानमा रहेको छ ।

Advertisement