May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी कांग्रेसले आन्दोलन गर्दैन : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई असर पर्ने गरी कांग्रेसले आन्दोलन नगर्ने बताएका छन।

Advertisement

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक भए पनि अदालतमा मुद्दा परेकाले त्यसकाविरूद्ध कांग्रेसले आन्दोलन नगरने बताएका हुन ।

संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक भएको बताउदै देउवाले अदालतलाई प्रभाव पार्ने गरि धम्क्याउन नमिल्ने तर्क गरे । भर्चुअल संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न हुने बेलामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए।

ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गर्दै उनले भने, ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ ।’

प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि उनले बताएका छन् ।नेपाली कांग्रेसले पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ। आज कांग्रेसले देशैभर ४५औं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेको छ।

प्रतिनिधिसभा विघटनविरूद्ध सडक आन्दोलन तताउने वा अदालतको आदेश पर्खने भन्ने विवादकाबीच देउवाको पछिल्लो अभिव्यक्तिसँगै नेपाली कांग्रेस तत्काल सडक आन्दोलनमा नजाने भएको छ ।