May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

ओमिक्रोन त्रासः सरकारले लगायो नौ राष्ट्रबाट नेपाल आउन रोक

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।

Advertisement

मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन साताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

ती मुलुकबाट शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाइएको हो । तर, हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले प्रवेश अनुमति पाउने भएका छन् तर अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । सरकारका एक मन्त्रीका अनुसार ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

सबैभन्दा पहिले ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखापरेको थियो । त्यसपछि अहिले हङकङ, दक्षिणी छिमेकी राष्ट्र भारतमा समेत नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरुषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेको छ ।

यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । यसको संक्रमणको गति विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।