March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ओमिक्रोन कहर- प्रभावित हुन थाले सार्वजनिक सेवा

बागलुङ-  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् ।

Advertisement

मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ । चार जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताउनुभयो ।

अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उहाँले जनाउनुभयो । मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो । सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ । मालपोतको सेवा लिन दूरदराजदेखि सर्वसाधारण सदरमुकाम आउँछन् । यातायात व्यवस्था कार्यालयले पनि कोरोना महामारीको नयाँ लहर आएपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिन सकेको छैन । कार्यालय प्रमुख पारसिंह थापाले अन्य सेवा प्रवाहमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिइएको बताउनुभयो ।

“लाइसेन्सको ट्रायलमा बढी भीडभाड हुने र व्यवस्थापनमा चुनौती देखिएपछि अहिले त्यसको परीक्षा हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “अरु नियमित सेवा लिन आउने सेवाग्राहीको पनि अहिले कार्यालयमा चाप कम छ ।” उहाँले रोकिएको ट्रायल परीक्षाबारे सरोकार भएका पक्षसँगको छलफलपछि थप निर्णय लिइने बताउनुभयो । सेवाग्राही बढी आउने जिल्ला प्रशासन, नापीलगायतका कार्यालयमा सङ्क्रमणको जोखिम उच्च छ । कतिपय सार्वजनिक क्षेत्रमा जनस्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइँ भएको देखिन्छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नयाँ नियम बनाएको छ ।

बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिने भएका छन् । आइतबार÷सोमबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, मङ्गलबार÷बुधबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका, बिहीबार÷शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ ।

यस्तै बुर्तिबाङमा रहेको इलाका प्रशासन, मालपोत र नापी कार्यालयले आइतबार-सोमबार ढोरपाटन नगरपालिका, मङ्गलबार÷बुधबार निसीखोला गाउँपालिका, बिहीबार÷शुक्रबार बडिगाड र तमानखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ ।

तालिकामा उल्लेख गरिएकाबाहेक अन्य स्थानीय तहका सेवाग्राहीलाई सबै दिन सेवा दिने निर्णय भएको केन्द्रले जनाएको छ । केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आज जारी गरेको आदेशमा सो कुरा उल्लेख छ ।

प्रजिअ ढकालका अनुसार महामारीसँग जुध्न सोमबार मध्यरातदेखि लागू हुने गरी थप नियम र मापदण्ड तोकिएको हो । मानिस भेला भएर गरिने सबैखाले कार्यक्रम, सभा, सम्मेलन माघ मसान्तसम्म गर्न नपाइने भएको छ । धार्मिकस्थलमा नित्य पूजापाठ मात्र गर्न पाइने नियम तोकिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक जात्रा, अनुष्ठान आदिमा पनि २५ भन्दा बढी सहभागी हुन नपाइने गरी मापदण्ड तोकिएको छ । होटल तथा रेष्टुराँमा पनि मङ्गलबारदेखि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीले खोप कार्डका आधारमा मात्र सेवा लिन पाउनेछन् । स्वास्थ्य कार्यालयको आँकडा अनुसार जिल्लामा हाल ३३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दो छ । आइतबार मात्र ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।