May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गर्नुभएको छ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामवद्ध हुन अपील गर्नुभएको हो । देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको उहाले बताउनुभएको छ ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई किनारा लगाउने गरेको र ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेको उल्लेख गर्दै प्रचण्डले त्यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको समेत उहाँले बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी आन्तरिक जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको स्मरण समेत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा सबैलाई शुभकामना दिँदै प्रचण्डले शहीदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना समेत ब्यक्त गर्नुभएको छ ।