May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

प्रचण्ड–नेपाल पक्षका नेताहरुले सभामुखलाई भेटे

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन्। आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटासँग परामर्शका लागि उनको कार्यकक्षमा पुगेका थिए ।

Advertisement

सभामुखसँग करिब २० मिनेट छलफल पछि प्रचण्ड र नेपाल बाहिरिएका छन् । त्यस अघी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो ।

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव पक्ष त्यसबारे अझै अनिर्णित बनेको अवस्थामा उनीहरु सभामुखसँग परामर्शमा जुटेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो।

भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन । यद्यपि पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । अपराह्न चार बजे संसद बैठक बस्दै छ । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।