May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

प्रचण्ड–माधव समूह नेता निर्वाचन आयोग पुगे

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह बिहीबार निर्वाचन आयोग पुगेको छ । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग आएको नेताहरुले बताएका छन् । नेताहरुले बुधबार निर्वाचन आयोगको ढिलाई प्रति आपत्ति प्रकट समेत गरेका थिए।

Advertisement

बिहीबार राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका हुन । पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरु आयोग पुगेका छन ।

बिहीबार पेरिसडाँडामा आफ्ना सांसदहरुसहित बसेको बैठकले केपी ओली पक्षका नेताहरुलाई कारबाही गरेको निर्णयका बारेमा आयोग र सचिवालयलाई जानकारी गराउने निर्णय गरेको थियो ।बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगमाथि दबाब बढाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई समूहमा विभाजित भएको छ। एकातर्फ पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेललगायतका नेता छन् भने अर्को समूहमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु रहेका छन । प्रचण्ड–माधव समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले नेकपा विवादबारे अझै निर्णय गरेको छैन ।