May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेकपाका सबै सांसदलाई सत्तापक्षकै कुर्सी

काठमाडौँ । सत्ता र सडकमा नेकपा दुई समूहमा विभाजित भए पनि आसन्न प्रतिनिधिसभा बैठकमा भने सत्तारूढ एउटै दलको बसाइमा देखिनेछन् । प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संघीय भवनमा नेकपाका सांसदहरू बस्ने कुर्सी दुई समूहमा छुट्याइएको छैन ।

Advertisement

नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका सांसदहरू बस्ने कुर्सी सत्तापक्षकै लहरमा राखिएको छ । औपचारिक रूपमा पार्टी फुटेको छैन,’ संसद् सचिवालयका एक अधिकारीले भने, ‘त्यसैले अहिले नेकपाका सबै सांसद सत्तारूढ हुन् ।’ सचिवालयले बैठकका लागि कुर्सी, टेबलको सरसफाइ, रंगरोगन, सामाजिक सुरक्षा, स्वास्थ्य मापदण्डको पालनालगायत विषयमा आन्तरिक तयारी पूरा भएको जनाएको छ ।

संसद् भवन प्रवेश गर्ने ढोकामै ज्वरो नाप्ने स्वचालित मेसिन राखिएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि बैठक बस्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ मा अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटा, संघीय संसद्का महासचिव र सचिवालयका महाशाखा प्रमुखहरूले मंगलबार संसद् भवन निरीक्षण समेत गर्नुभएको थियो।

बैठकअघि सचिवालयले सांसद, मन्त्री र कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार सिभिल अस्पतालमा बुधबारदेखि खोप लगाउन थालिनेछ । पौने १० बजे खोप लगाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

नेकपा दुई समूहमा विभाजित भएपछि बस्न लागेको बैठकको एजेन्डा भने तय भएको छैन । सभामुख सापकोटाले दलहरूको सहमतिअनुसार प्रक्रिया अघि बढ्ने बताउनुभयो । प्रतिनिधिसभा विघटन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव कसरी अघि बढाउने भन्ने पनि यकिन भएको छैन । गत पुसमा सुरु हुनुपर्ने सातौं अधिवेशन विघटनका कारण रोकिएको थियो । प्रतिनिधिसभा विघटन भएपछि अन्योलमा रहेको सचिवालयले बैठकको तयारी नै गरेको थिएन ।