May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

महिला लघुवित्तको आइपीओ खुल्यो : कम्पनी कस्तो छ, कति कित्ता भर्दा ठीक ?

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार (माघ ३० गते) देखि ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

Advertisement

महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।

  रेटिङ  

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिलाको लघुवित्तलाई “इक्राएनपी बीबी” रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले सन् २०२० अक्टोबर २१ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२१ अक्टोबर २० सम्म बाहल रहनेछ । 

कति कित्ताका लागि दिने आवेदन ? 

 नेपालमा पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक देखिएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । जसका कारण दुई वटै बजारमा नयाँ नयाँ रेकर्डहरु बन्दै गएका छन् । आइपीओमा आवेदन दिनेको संख्या पनि उच्च रहेको छ । गत मंगलबार बिक्री बन्द भएको ग्रीनलाइफ हाइड्रोपावरमा माग भन्दा ७.३० गुणा बढी आवेदन परेको छ ।

यसमा झण्डै १४ लाख जनाले सेयर भरेका छन् । त्यसभन्दा अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पनि कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । पछिल्ला आइपीओमा परेको आवेदनलाई आधार मान्ने हो भने महिला लघुवित्तको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्नेछ । अझ महिला लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको सेयर संख्या ग्रीनलाइफ र इन्फ्रास्ट्ररको तुलनामा अत्यन्तै न्यून छ ।

जसका कारण सेयर पाउन निकै भाग्यमानी हुनुपर्ने देखिन्छ । त्यसमाथि पनि लघुवित्तको सेयरमा अझै बढी आकर्षण हुने गर्छ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ३७ हजार ५०० जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ । तसर्थ, महिलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ । यद्दपि, यस कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । 

कम्पनी सम्बन्धी विवरण  

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगा, काभ्रेपलाञ्चोकमा रहेको छ ।   महिला लघुवित्त २०७५ जेठ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो ।

यसले २०७५ असोज २२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ कात्तिक १ गतेदेखि कारोबार सुरु गरेको थियो । हाल यस लघुवित्तले २९ जिल्लाहरुमा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ । 

पुँजी संरचना र वित्तीय प्रक्षेपण 

महिला लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ६ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ४ लाख कित्ता आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात १० करोड रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% हुनेछ ।

 चालु आर्थिक वर्षको अन्त्यसम्म महिलाले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा १२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०७९–८० मा १९ करोड ७० लाख ९३ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन ।

आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने १० करोड रुपैयाँ पुँजी नै यथावत हुने प्रक्षेपण छ ।  यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३७ पैसा र आव २०७९–८० मा १०४ रुपैयाँ ८२ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ र आव २०७८–७९ मा ३८५ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।