April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

ब्याजदरमा ठूलाे गिरावट भएसँगै बैंकबाट ऋण लिन सहज

काठमाडौं । बैंकबाट ऋण लिने ब्याज दर दिनदिनै सस्तो बन्न थालेको छ । आधार दर कम भएका बैंकबाट ऋण लिन जाँदा निकै सस्तो ब्याजदरमा ऋण पाउन सकिन्छ ।

Advertisement

सरकारी अनुदानवाला ऋण पर्‍यो भने ब्याज झनै कम पर्नेछ । सरकारी अनुदानवाला ऋणमा सरकारले नै ५ प्रतिशत ब्याज तिरिदिन्छ ।

एक वर्षअघि बैंकहरुको आधार दर ११ प्रतिशतको हाराहारीमा थियो । तर अहिले त्यो घटेर ५.६१ प्रतिशतमा आएको छ । यसमा केही प्रिमियम लिएर बैंकले ऋण दिने गरेका छन् । अहिले सबैभन्दा महँगो आधार दर भनेको ८.४५ प्रतिशत रहेको छ ।

त्यसैले पछिल्लो समय १० प्रतिशतभन्दा कम ब्याजदरमा सजिलै ऋण पाइन्छ । ब्याजदर घट्नुको कारण आधार घट्नुमात्र भने होइन । राष्ट्र बैंकले स्प्रेड दर ४.४ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्थामा कडाइ गरेकाले पनि ऋण निकै सस्तो भएको हो ।

हाल अधिक तरलताका कारण कसले सस्तोमा ऋण दिने भनेर प्रतिस्पर्धा नै चलिरहेको छ । जसकारण अहिले ऋणीका लागि एकदमै सहज अवस्था बनेको हो । यो भनेको फ्लोटिङ दर हो। अर्थात तरलता बढी हुँदा घट्ने र कम हुँदा बढ्ने ।

स्थिर ब्याज दर भने अझै पनि केही महँगो छ । यसको ऋणको ब्याजदर दोहोरो अंकमा नै छ ।

तीन वटा त्रैमासदेखि राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम छ । नबिलले पनि ६.६८ प्रतिशतको दरलाई ५.७६ प्रतिशतमा झारेको छ । स्ट्यान्डर्ड चार्टर्डले ६.०७ प्रतिशत कायम गरेको छ । नेपाल बैंकको ६.१९ प्रतिशत छ भने एभरेष्टको ६.३४ र नेपाल इन्भेष्टमेन्ट बैंकको ६.५६ प्रतिशत छ ।

एनआइसी एसिया, ग्लोबल आइएमइ, सानिमा र हिमालयन बैंकको सात प्रतिशतभन्दा कम छ । सानिमा र हिमालयनको बराबरी ६.८३ प्रतिशत आधार दर छ भने प्रभु र लक्ष्मीको ७.२४ प्रतिशत छ ।