May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नबिल बैंकले एनबी इन्टरनेसनललाई लाभांश दिएन

काठमाडौं । नबिल बैंकले एनबी इन्टरनेसनलाई लाभांश नदिने भएको छ । नेपाल राष्ट्र बैंकले रोक लगाएका कारण एनबीले लाभांश नपाएको हो ।

Advertisement

गत आवको नाफाबाट एनबीले ३५.२६ प्रतिशत लाभांश पाउनुपर्ने थियो । नबिल बैंकमा ५० प्रतिशत सेयर रहेको एनबी इन्टरनेसनलको लगानी विवादास्पद छ । सोही कारण लाभांश वितरणमा रोक लगाइएको हो ।

राष्ट्र बैंकले विवाद सुल्झेपछि मात्र लाभांश दिन भनेको छ । राष्ट्र बैंकले २०७६ फागुनमा नबिल बैंकमा अनुगमन गर्दा अनुगमनका क्रममा एनबी इन्टरनेसनलको लगानीबारे केही अस्पष्टता पाएको थियो ।

त्यसपछि राष्ट्र बैंकले पटकपटक नबिल बैंकसँग छलफल गरिसकेको छ । तर लगानीको प्राकृतिक व्यक्ति को हो र लाभांश कसले पाउँछ भन्ने विषयमा राष्ट्र बैंक स्पष्ट हुन सकेको छैन ।

नबिल बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारण र नेपाली लगानीकर्ताको लाभांश पारित गरे पनि विदेशी लगानीका रुपमा रहेको एनबी इन्टरनेसनलले पाउने लाभांश पारित गरेन ।

नबिल बैंकले गत आवको नाफाबाट ३५।२६ प्रतिशत लाभांश साधारणसभामा प्रस्ताव गरेको थियो । त्यसमध्ये साढे ३३ प्रतिशत नगद १।७६ प्रतिशत रकम कर प्रयोजनार्थ दिइएको छ ।

एनबी इन्टरनेसनलमा ५१ प्रतिशत सेयर बंगलादेशको अब्दुल अवाल मिन्टुको छ । ४९ प्रतिशत सेयर सीजी इनोभेसन सिंगापुरको रहेको छ ।

सीजी इनोभेसनमा उद्योगपति विनोद चौधरीका दुई छोरा राहुल र वरुणसँग ९९.५ प्रतिशत सेयर छ । उनीहरु दुवैसँग नेपाली नागरिकता छैन । ०.५ प्रतिशत मात्र उद्योगपति चौधरीसँग छ ।

चौधरी बैंकले दिने लाभांशमध्येको अन्तिम हितकारी हुन् । सोही विवरण बैंकले नेपाल राष्ट्र बैंकलाई गत पुसको दोस्रो हप्ता बुझाएको थियो । विवरण अध्ययन भइरहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।