नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)

Advertisement

काठमाडौं, २१ माघ । गोविन्द प्रसाद रिजालको नेतृत्वमा नेपाल राष्ट्रिय सनातन पार्टी जन्मिएको छ । राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने उद्देश्यकासाथ आफूहरु नयाँ पार्टी लिएर आएको अध्यक्ष रिजालले स्पष्ट पारेका छन् । अध्यक्ष रिजालका अनुसार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र यही माघ ५ गते प्राप्त गरेको थियो ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेनलको आयोजना गर्दै उक्त पार्टीले भनेको छ,‘दलको नाममा, सिंगो मुलुक विभाजित छ, राजनीतिको नाममा पनि त्यस्तै विभाजन छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षा के सबैको साझा स्वार्थ बन्न सक्दैन र ? हो यही प्रश्न खोज्दै आम नेपालीमाझ राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षार्थ आवाज लिएर पुग्ने उद्देश्यकासाथ यो पार्टी अघि सरेको हो ।’

रिजालको नेतृत्वमा २८ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । पार्टीको उपाध्यक्षमा शंकर थापा र विष्णु प्रसाद शिवाकोटी, महासचिवमा गणेश घिमिरे, सचिवमा प्रज्जवलकान्त मैनाली, कोषाध्यक्षमा अनिता शर्मा रहेका छन् । त्यस्तै, पार्टीको केन्द्रीय सदस्यहरुमा विशाल पुलामी, भीमराज सेढाँई, भुवनप्रसाद लामिछाने, गोपालप्रसाद सापकोटा, आदेश हमाल, रमा खत्री, तेजनाथ न्यौपाने, सिताराम ठाकुर, शोभित खड्का, शारदा बस्नेत, ऋतुसिंह थापा, सुनिता न्यौपाने, सुनिता केसी, कृष्ण खनाल र रत्नकुमारी ढकाल रहेका छन् ।

मुलुक अझैपनि संक्रमणबाट नै गुज्रिरहेको उक्त पार्टीको ठम्याई छ । पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘वि.सं. २००७ सालदेखि हामी लगभग दशक बिराएर विभिन्न परीवर्तन हुँदै गज्रिरहेका छौं । तर परीवर्तन मात्र सबथोक हैन, राज्य संचालन बिधि महत्वपूर्ण हो भन्ने पुष्टि बारम्बारको परिवर्तनले गर्दै आएका छन् । नेपाल दक्षिण एशियाको मात्र नभै विश्वकै पुरानो देशको रूपमा उभिएको छ । कहिल्यै कसैको दास बन्नु नपरेको गौरवमय इतिहास हामीसंग छ । यो देश परापूर्व कालमा ऋषीमुनीहरूको पवित्र स्थलदेखि नेपाल एकिकरण पूर्व र त्यसपछि धेरै उतारचढावहरू आए तर न मेटियो न त मासियो नै । नेपाल देश चिनिदादेखि नै सनातन हिन्दु राष्ट्रको पहिचान बनाएको नेपालले अब त्यो परिचय गुमाएको छ । किन त्यो परीचय गुमाउन पर्यो त्यसको जवाफ दिन कोही पनि अगाडि आउन सकेका छैनन् ।’

धर्म हराए संस्कृति मेटिने र संस्कृति मेटिए पहिचान हराउने अध्यक्ष रिजालको चिन्ता छ । उनले भने,‘पहिचान हराए जाति हराँउछ, जाति हराए मुलुक बाँकी रहला त ? यो अवस्था किन भित्रिँदैछ यो मुलुकमा ? शान्तिगामी र सामाजिक सद्भावको गतिलो उदाहरण बनेर बसेका नेपाली नेपालीबीच वैमनश्यको खाडल नदेखिने गरी खनिन थालिएको छ । यसप्रति अब हामी सचेत बन्ने कि नबन्ने ?’

पछिल्लो समय नेपालबाट आयातमात्र बढेको सुनाउँदै उनले यो परिपाटीले देशको अर्थतन्त्र चौपट बनिरहेको टिप्पणी गरे । ‘भान्सादेखि धुरीसम्म र बजारदेखि गाँउसम्म विदेशी वस्तुले भरिन थालेको छ । अहिले हाम्रा खेतबारी बाँझा छन्, गोठहरू रित्तो राखेर, गाँउघर सुनसान पारेर खाँडीतिर खनिने युवाहरूको लर्काे रोकिएको छैन ।’–रिजालले भने,‘त्यही विदेशिएका युवाहरूले पठाएको रेमिट्यान्समा रमाउने सरकारले मुलुकलाइ कुन समृद्धि दिन खोजेको हो ? निर्लज्ज विदेशी हस्तक्षेप, राष्ट्रिय सवालका विषयमा देखिएका कमजोर निर्णयहरू, सत्ताकालागि हुने फोहोरी खेल, राष्ट्रिय गौरवको आयोजनामा देखिएको कमिशनको खेल, सरकारी सबै निकाय भ्रष्टाचारमा चुर्लुम्म डुब्न र सुशासनको बढ्दो अभावले मुलुक कतातिर गइरहेको छ ? यो गम्भीर भएर सोच्नुपर्ने बिषय बनेको छ ।’

आफूहरुको पार्टीले आम नेपालीलाइ एकै सूत्रमा उनेर सनातनी परम्पराको रक्षा गर्दै हिन्दू धर्म संस्कारकोे परिचय र पहिचानमा आँच आउन नदिन सदैब क्रियाशिल रहने पनि उनले विश्वास दिलाए । ‘हिमाल, पहाड र तराईबीचको अनोन्याश्रित सम्बन्धमा खलल ल्याउन खोज्ने तत्वहरू सक्रिय रहेकोले त्यस्ता तत्व विरूद्ध आम नेपालीलाइ सचेत गराइ राष्ट्रिय एवं सामाजिक एकता र अखण्डताको जगलाइ थप मजबूत बनाइ यही आपसी भाइचारा र सद्भावलाइ अझै परिपक्व बनाएर मुलुक निर्माणको एकिकृत प्रयासलाइ बढावा दिनेछौं ।’–रिजालले थपे ।

हरेक नेपाली नागरिक जोसंग नागरिकता पाउने अधिकार छ, उनीहरूले नागरीकता पाउनु पर्ने उक्त पार्टीको भनाई छ । ‘नेपाली नागरीकको नाममा जथाभावी नागरिकता वितरणले राष्ट्रियतामाथि गम्भिर प्रश्न खडा गरेको छ । नेपाल राष्ट्रिय सनातन पार्टी राष्ट्रियतामाथि खेलवाड गर्ने यो प्रवृतिविरूद्ध खरो ढंगबाट पेश हुनेछ ।’’–विज्ञप्तीमा भनिएको छ ।

कार्यक्रममा उक्त पार्टीको प्रादेशिक संगठन विस्तार भैसकेको पनि पार्टीका उपाध्यक्ष शंकर थापाले जानकारी गराए । उनले भने,‘हामीले ७ वटै प्रदेशमा हाम्रा संठगठन विस्तार गरेका छौं । आगामी दिनमा हामीले ७७ वटै जिल्लामा पार्टी कमिटी गठन गर्ने योजना बनाएका छौं ।’

सनातन पार्टीको आदर्श

सनातनी परम्परा नेपालको वास्तविक परिचय हो । नेपाली समाजलाइ अनुसाशन र आदर्शमा बाँध्ने परम्परा नै नेपालको सनातनी परम्परा हो । आदिकालदेखि नै ऋषिमुनीहरूको तपोभूमीमात्र नभइ देवभूमिको रूपमा मान्यता पाएको नेपालमा परम्परागत मूल्य मान्यताले अझैपनि विश्राम लिएको छैन । तर यसो भन्दैमा ढुक्क परेर बस्ने अवस्था भने रहेन । नेपाली संस्कृति र संस्कार एवं मूल्य मान्यता माथिको निरन्तर प्रहारको एउटा कडीका हो ‘धर्म निरपेक्षता’ । यसैको आडमा नेपाल र नेपालीमाथि गीर खेल्ने क्रम जारी रहेकोले आफ्नो मूल्य, मान्यता र धर्म संस्कृतिको रक्षार्थ अब आम नेपाली एक ठाँउमा उभिनु आवश्यक भैसकेको छ ।

वैदेशिक नीतिमा पञ्चशील सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाइ प्राथमिकताका साथ अवलम्बन गरी, युवाहरूलाइ स्वरोजगार गराइ खेलकुद तथा राष्ट्रिय प्रतिष्ठा अभिबृद्दि गर्ने कार्यमा संलग्न गराउने । स्तरीय शिक्षा र प्राबिधिक बिषयहरूको अध्ययन सामान्य नागरिकको पहुँचभन्दा बाहिर नजाने गरी निजी र सामुदायिक विद्यालयहरूमा देखिएको अन्तर र अन्य शैक्षिक विकृतिहरू निर्मूल पार्ने ।