April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

लक डाउन मोडालिटी अनुसार एसईईबारे निर्णय : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लक डाउन मोडालिटी कस्तो हुन्छ सोही अनुसार एसईई लगायत अन्य परीक्षाको टुंगो लाग्ने बताएका छन् । एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि एकीकृत धारणा बनाएर अघि बढ्ने उनले बताए ।

Advertisement

मंगलबार प्रतिनिधिसभा संसद बैठकमा सांसदहरूले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले जेठभित्रै परीक्षाहरूका बारेमा निर्णय पुग्ने फेरि दोहोर्याए ।

‘एसईई परीक्षा सञ्चालन नभएकाले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ,’ उनले भने, ‘विद्यालयहरुमा क्वारेन्टाइन रहेको छ । केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन ।

तथापि, परीक्षाका सम्बन्धमा विद्यार्थी र अभिभावकमा रहेको अन्योल अब धेरै समय नरहने उनले दाबी गरे । यस्तै, एसईईबारे ३ वटा विकल्पमा छलफल भइरहेको पनि मन्त्री पोखरेलले बताए ।

‘एसईई खारेज गर्ने, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिने वा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने गरी व्यवस्था मिलाउनेजस्ता विकल्प छलफलमा आएका छन्,’ उनले भने, तर त्यसमा कानुनी जटिलता पनि छ । यसर्थ, निर्णयमा पुग्न केही विलम्ब भएको उनको भनाई छ ।