May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

” वामदेव गौतम लाई परदेशीको खुला पत्र “

प्रीय कमरेड लाल अभिवादन । देशले अहिले जटिल परिस्थितिको सामना गर्दै अघि बढिरहेको छ । नेपाल मात्रै होइन सारा विश्व कोरोना भाइरसको महामारीको चपेटामा छ । आकाश र धर्ती दुबै ठाउँमा मा एक छत्र राज गरिरहेका मानव जाती आज आफैं भयभीत छ । मान्छे मान्छे देखेरै डराउनु पर्ने भयावह स्थितिले सामाजिक दुरि कायम गरिएको छ । नेपाल जस्तो गरिब मुलुक जसको आधा हिस्सा वैदेशिक रेमिट्यान्स ले धानिरहेको छ । प्रवासमा रहेका लाखौं नेपाली हरु ले रोजगारी गुमाइरहेका छन यो क्रम अझै बढदो छ ।

Advertisement

देश भित्रै रहेका लाखौं युवायुवती हरु लाई रोजगार दिन नसकिरहेको यो अवस्थामा प्रवासमा रहेका लाखौं युवायुवती हरु स्वदेश फर्किदा कहाँनेर स्थापित गर्नुहुन्छ ??? १२ वर्षे जनयुद्ध ले देशलाई अझै २० वर्ष पछाडी धकेलिएको छ । सरकारी स्वामित्वमा रहेका सयौं उद्योग , कलकारखाना र भौतिक संरचना हरु राजनीतिक खिचातानी ले गर्दा सबै तहसनहस बनाएर छोडे । बाकी रहेका भौतिक संरचना हरु केही वर्ष अघिको विनाशकारी भुकम्प ले ध्वस्त बनाए ।

राजनीतिक द्वन्द , सत्ता र शक्तिको आडमा मा बसेर सबै उद्योग र कलकारखाना हरु बेचेर खाए । जसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं युवायुवती हरु प्रभावित भएर आज मलेसिया , खाडी मुलुक लगायत पश्चिमी मुलुकहरू मा म जस्ता लाखौं युवायुवती हरु श्रम बेचिरहेका छन । कमरेड तपाईं नेकपा एमाले पार्टी फुटाएरै पुर्व नेकपा (माले ) का महासचिव हुँदै गृहमन्त्री र उपप्रधानमन्त्री एसिया कै दोस्रो ठुलो कम्युनिस्ट पार्टी नेकपा को उपाध्यक्ष पनि भैसक्नु भएको छ । खोइ के गर्नुभयो तपाईंले म जस्ता लाखौं बेरोजगार युवायुवती हरु लाई ??? खोइ देश विकासमा तपाईंको प्रत्यक्ष भुमिका ???समृद्ध नेपाल र सुखी नेपाली को परिकल्पना बोकेर दुई तिहाई बहुमत बाट बनेको तपाईंको आफ्नै पार्टीको सरकार छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभिभारा तपाईंको पनि होकि होइन ??? सरकारलाई सहयोग गर्नुपर्ने तपाईंको कर्तव्य होकि होइन ??? तपाइँलाई सत्ता र कुर्सी नै चाहिरहने ??? जनताले त्यो अवसर पनि नदिएको होइन । तर तपाईंको अहंकार ले गर्दा २०७० सालको आम चुनावमा तिनै जनताले धुलो चटाइदिए । फ़ेरि पनि तपाईं बाट अझैसम्म त्यो अहंकार हटेको छैन ।

जननिर्वाचित आफ्नै संसद लाई पदच्युत गराउन कहिले काठमाडौ जिल्ला , कहिले कास्की जिल्ला त कहिले राष्ट्रियसभाको विधान संशोधन गरि कार्यकारी प्रधानमन्त्री हुनुपर्ने जस्ता हर्कत ले सिङ्गै पार्टी तपाईं एकजनाको लागि सती गैदिनु पर्ने ??? हुदाहुदै अब पाल्पा क्षेत्र नम्बर १ तपाईंको लागि खाली गरिदिनु पर्ने ??? नेकपा एमाले विभाजन गरे देखि नै तपाईं मा उग्रवामपन्थी र दक्षिणपन्थी को भुत सवार भएको छ । तपाईंलाई प्रधानमन्त्री बनाउछु भनेर कसैले वाचा गरेका छन भने त्यो उनै सँग गएर भन्नुहोस् तर सिङ्गो पार्टी तपाईका लागि सति जान सक्तैनन् । कथमकदाचित तपाईं प्रधानमन्त्री भैहाले पनि अंक थप्ने काम मात्रै त हो सिन्को भाच्न सक्तैनन् तपाईंले ।

गृहमन्त्री भएको बेलामा त एउटा नयाँ सुरक्षा नीति ल्याउन सक्नु भएन प्रधानमन्त्री भएर के गर्नुहुन्छ ??? त्यसैले मेरो सानो सुझाव तपाईंलाई पार्टी भित्र गुट उपगुट बनाएर घात गर्ने काम नगर्नुस् । पार्टीलाई एक ढिक्का बनाउनुस सरकार चलाउन लाई सहयोग गर्नुस , यसैमा तपाईं र पार्टीको भलो छ कमरेड ।

फलेन्द्र बलम्पाकी मगर हाल: दुबई / युएई