सेयर बजार विस्तारै सम्हालिने संकेत

काठमाडौं : सेयर बजारले विस्तारै सम्हालिने संकेत गरेको छ । छोटो समयमा भारी अंकले गिरावट आएको बजार सोमबारबाट विस्तारै लयमा फर्किने विश्वास बढेको हो । १६६७ सम्मको उच्चतम विन्दुमा पुगेको बजारमा नाफा बुक गर्नेहरु हावी भएका थिए । नाफा बुक गर्नेहरु सक्रिय हुँदा बिक्री चाप बढेको थियो । त्यसले नेप्से सूचक केही तल झार्नु स्वभाविक थियो । तर, त्यति नै बेला कोरोना भाइरसको संक्रमणको त्रास चुलिन थाल्यो । विश्वव्यापी रुपमा यसको प्रकोप बढ्न थालेपछि नेपाली लगानीकर्ता पनि त्रसित भएका हुन् ।

Advertisement

तथापि, अहिलेसम्म नेपालमा यसको संक्रमण फैलिएको पुष्टि हुन सकेको छैन । तथापि, सेयर बजारमा मनोविज्ञानको निकै ठूलो भूमिका हुने भएकाले त्यसको प्रत्यक्ष प्रभाव परेको हो । यसले अर्थतन्त्रमा पार्ने प्रभावको अहिलेसम्म वास्तविक तस्बीर बाहिर आइसकेको छैन । तर हल्ला र त्रासको प्रभाव भने बेस्सरी परेको छ । कोरोना त्रासका कारण लगानीकर्ताको आत्मबल गिरेको थियो । यसरी कोरोनालाई कारण बनाएर पेनिक सेल गर्नेहरु विस्तारै कम हुन थालेको अनुमान गरिएको छ ।

यद्दपि, बजारको आगामी गति र प्रवृत्तिका बारेमा अहिल्यै ठोकुवा गर्नुभन्दा पनि लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीमा विस्तारै लगानी गर्नु बढी बुद्धिमान हुन सक्छ । यसरी कारोबार गर्दा आफ्नो जोखिम बहन क्षमतालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । लगानीकर्ताले सकेसम्म अलि लामो समयसम्म होल्ड गर्न सक्ने हिसाबले सेयर खरिद गरेमा दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । सेयर बजार सुधारका कार्यक्रम अघि बढिरहेको छ ।

नीतिगत, व्यवहारिक र प्राविधिक पक्षमा पनि सुधार भइरहेको छ । नीतिगत सुधार, कम्पनीहरुको नाफा वृद्धि अनि सस्तो बैंक ब्याजदरको संयोजन हुन सकेमा सेयर बजार माथि जान सक्छ । सेयर कारोबार गरिरहँदा जोखिमबहन क्षमता, होल्ड गर्न सक्ने समय लगायतका पक्षमा पनि उत्तिकै ध्यान दिन जरुरी हुने विश्लेषकहरु बताउँछन् ।  नेप्से सूचक सोमबार ३.३५ अंकले बढेर १३१६.३९ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ लाख ९१ हजार ४१५ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएका १२ समूहमध्ये ३ समूहबाहेक बाँकी सबै हरिया भएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ५३.८४ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक भने १.१ अंकले माथि लागेको छ । 
 खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । यसको १५ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकममा दोस्रोमा एनआइसी एसिया बैंक र तेस्रोमा एनएमबि बैंक परेका छन् । यस दिन सिभिल लघुवित्त वित्तीय संस्थाको भाउ ९.८८% ले बढेको छ । सबैभन्दा धेरै युनिलिभर नेपालको भाउ ५.८७% ले घटेको छ ।