कोरोना कहर :च्याम्पियन्स लिग स्थगित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व फुबटल नराम्ररी प्रभावित भएको छ । विश्वका विभिन्न लिगहरु, विश्वकप छनोटका खेलहरु धमाधम स्थगित भइरहेको छन् ।

Advertisement

खेलाडीहरुमा धमाधम कोरोनाको संक्रमण देखिन थालेपछि युरोपियत फुटबल एसोसिएशन (युइएफए)ले च्याम्पियन्स लिग र युरोपा लिग पनि तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले शुक्रबार अर्को साता हुने च्याम्पियन्स लिगका खेल र युरोपा लिगका खेलहरु स्थगित गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै मार्च १७ र १८ मा तय भएको कुनै पनि खेल त्यस मितिमा हुने छैन । त्यो दिन च्याम्पियनस लिगको अन्तिम १६का दोस्रो लेगका ४ खेल थिए । जसमा रियल मड्रिड र म्यान्चेस्टर सिटी, बार्सिलोनाले र नापोली, चेल्सी र बार्यन म्यूनिख तथा युभेन्ट्स र लियोन भिड्दै थिए ।

यसैगरी च्याम्पियन्स लिग क्वार्टरफाइनलको ड्र पनि स्थगित भएको छ । यसअघि मार्च २० मा ड्र गर्ने कार्यक्रम थियो । युरोपा लिग अन्तर्गत म्यानचेष्टर युनाइटेड र एलएएसके, वल्भ्स र ओलम्पियाकोस तथा रेन्जर्स र वायर लेभरकुजनबीचको खेल पनि स्थगित भएको छ ।

यस्तै मार्च १७ र १८ मा तय भएको युईएफए युथ लिगको सबै क्वार्टरफाइनल खेल पनि स्थगित गरिएको छ । युईएफले स्थगित गरिएको खेलको नयाँ मितिबारे पछि जानकारी गराउने जनाएको छ ।

यसैगर फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वान र लिग टु पनि कोरोनाकै कारण स्थगित भएको छ । फ्रान्स फुटबल लिग एलएफपीको बोर्ड अफ डिरेक्टर्सको बैठकले सर्वसम्मत रुपमा लिग स्थगित गर्ने निर्णय गरेको हो । अर्को निर्णय नहुँदासम्म लिग रोकिने भएको हो ।

युरोपका अन्य देशमा यसअघि नै लिगहरु स्थगित भइसकेका छन् । इटलीमा अप्रिल ३ सम्मको लागि सिरी ए स्थगित गरिएको छ भने स्पेनमा आगामी दुई साताको लागि लिग स्थगित गरिएको छ ।