May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

टंकलाल घिसिङ बने राखेपको सदस्य सचिब

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले  घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए ।

Advertisement

घिसिङ नेपाल रग्बी संघका संस्थापक केन्द्रीय अध्यक्ष, एसिया रग्बिको कार्यकारी बोर्ड सद्स्य तथा एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखसमेत हुन् । घिसिङले भोलि (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने सम्भावना छ ।

युवा तथा खेलकुदमन्त्री  गहतराजले राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा १७ को उपदफा ३ बमोजिम सदस्य सचिव सिफारिसका लागि ३ सदस्यीय समिति गठन गरेका थिए।

समितिमा मन्त्रालयका सह सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरि बहादुर श्रेष्ठ थिए। सदस्यसचिवमा आवेदन दिएका १८ जनाले आइतबार मन्त्रालयमा कार्ययोजना बुझाएका थिए। ती मध्येबाट समितिले घिसिङसहित अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो।

गत कार्तिक १ गते तत्कालिन सदस्य सचिव रमेश कुमार सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले ४ गते ७ दिनको समयावधि राखेर सदस्यसचिवका लागि दरखास्त आवेदन माग गरेको थियो। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिवालय सदस्यसमेत रहेका घिसिङ प्रचण्ड निकट मानिन्छन्।