May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

पर्यटन मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने

असोज ९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले त्यस्तो प्रस्ताव पेश गर्ने निर्णय गरिएको बताइएको छ । अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखा प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति गठन गरिएको छ । जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत समावेश गरी अध्ययन प्रतिवेदन तयार गरिने भएको हो । मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धनका लागि दुई दिन बिदा दिने, भ्रमण भत्ता दिनका लागि अध्ययन गर्ने, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा समेत अध्ययन गरी अध्ययन प्रतिवेदन तयार पार्ने भएको हो ।

Advertisement