May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

रक्सी रोकेको निहुँमा भन्सारका कर्मचारीलाई हातपात गर्ने रेग्मीलाई अदालतको राहत

सर्वाेच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वाेच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ । उक्त छलफलमा कारबाही गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा पुस २ मा बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेको थियो । सीईओ रेग्मीले लन्डनबाट काठमाडौं फर्कने क्रममा रक्सी खाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीमाथि हातपात गरेका थिए ।

\कर्मचारीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि उनी विवादित बन्दै आए । सीईओ रेग्मीले डेढ महीनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफूले ल्याएको रक्सी रोकेको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेकोबारे उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो । बोर्ड उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानविन समितिले रेग्मी दोषी रहेको ठहर गर्दै निलम्बनका लागि बोर्डलाई सिफारिश गरेको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।