May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज कार्यभार सम्हाल्दै

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको स्रोतले बतायो तर निर्णय भने गोप्य राखिएको छ ।

Advertisement

कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको हो । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।

शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए । नवनियुक्तमन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्यको नेतृत्व गरेका घिसिङलाई ल्याउन रुचि देखाएकी थिइन् । मन्त्रालय स्रोतका अनुसार घिसिङले प्राधिकरणको कार्यकारी अधिकृतका रूपमा आज कार्यभार सम्हाल्दै छन् । मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र दिन बाँकी रहेको छ ।

मन्त्री भुसालले यसअघि नै शाक्यलाई बोलाएर विकल्पको विषयमा छलफलसमेत गरेकी थिइन् । मन्त्रीले नै प्राधिकरणको कार्यकारी अधिकृतमा घिसिङलाई ल्याउन चाहेपछि कार्यकारी अधिकृत शाक्यले सार्वजनिक रूपमा सम्मानजनक रूपमा अन्यत्र पठाए आफू जान तयार भएको अभिव्यक्ति दिएका थिए ।