May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

Advertisement

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको तिवारीले जानकारी दिनुभयो ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिनुभएको छ । कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ ।

शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुनुहुन्छ भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुनुहुन्छ । पार्टीभित्र फरक गुटमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिने गरेका छन् । निधि संस्थापक समूहमा छन् भने कोइराला र सिंह संस्थापनइतर समूहका नेता हुन् ।कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ ।