May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

ओलिले गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्- माधव कुमार नेपाल

नेकपा एमालेका माधव कुमार नेपालले सर्वोच्च अदालतको फसैसलाले गम्भीर संकेत दिएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् – मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।

Advertisement

नेपालले सामाजिक सञ्जालमा लेखेका छन् – संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्।

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।


त्यसैगरी नेता भीम रावलले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको प्रतिक्रिया दिएका छन् । आज साँझ ट्विट गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?,“ उनले भनेका छन् ।