May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नरहेको दावी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

Advertisement

सर्वोच्च अदालतको संवैधानिक इजलाससमक्ष बिहीबार लिखित जवाफ पेस गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभामा १४९ जना सदस्यको समर्थनसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधिसभामात्र रहेको जिकिर गरेका छन् ।

उनले उनले भनेका छन् ‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६ (५) तथा धारा ६६ ले दिएको अवस्था समेत छैन । तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ । धारा ७६(५) बमोजिमको आधार पूरा गरी १४९ जना प्रतिनिधिसभाको सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा संवैधानिक दाबी प्रस्तुत गरिसकेको अवस्थामा विवाद सिर्जना गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको प्रश्न उठाई प्रतिनिधिसभा नै विघटन गर्ने कार्य संवैधानिक नैतिकता, संवैधानिक वस्तुनिष्ठता वा निष्पक्षतावाद, संवैधानिक सुशासन तथा वैधानिक संवैधानिक विश्वास तथा संवैधानिक संस्कार वा व्यवहारवाद समेतको प्रस्ट बर्खिलाप भएको उनले लिखित जवाफमा उल्लेख गरेका छन् ।

‘…सार्वजनिक रुपमै प्रतिनिधिसभाको विश्वास आफूमाथि नरहेको स्वीकार गर्नु भएका प्रधानमन्त्रीज्यूले पुनः संविधानको धारा ७६ (५) बमोजिम आफूमाथि बहुमत सदस्यको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेश गर्न संवैधानिक र नैतिक रुपले मिल्ने होइन,’ सभामुखले उल्लेख गरेका छन् ।