May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आफ्ना मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्नुभएको छ ।

Advertisement

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोध्नुभएको हो । अध्यक्ष यादवले भन्नुभो , ‘पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको भनेर सोधेका छौं ।’ स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको उहाँले बताउनुभयो ।

चारबुँदे स्पष्टीकरण पत्रमा सात दिनभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन र जसपाको अन्तरिम विधान २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । तर, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बनेका जसपा नेता लक्ष्मणलाल कर्णले भने स्पष्टीकरणबारे आफूलाई थाहा नभएको समेत बताउनुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी हुनुहुन्छ । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाउनुभएको छ ।

यसैगरी शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । यस्तै राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बन्नुभएको छ ।