May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेप्सेको अबको यात्रा कता ?


सरोज अधिकारी

Advertisement


कोरोनाको दोस्रो लहरका कारण लगानीकर्तामा देखिएको नकारात्मक असर बजार देखिन थालेर विगत चार दिको कारोबारमा १०३ अङ्कको गिरावट आएको बजारलाई साताको अन्तिम दिन विहीबारको कारोबारले भने राहत दिएको छ । कोरोनाको सङ्क्रमण बढने क्रम जारी नै रहे तापनि लगानीकर्ता भने त्यसको असरबाट अब नआत्तिने संकेत विहीबारको कारोबारले दिएको छ ।

विहीबार नेप्से परिसूचक १५.८० अंक बढेर दुई हजार ६४८.०१ विन्दुमा उक्लिएको छ । विहीबारको बृध्दि भने उल्लेख्य नभएर सामान्य वा बजारमा गिरावट थामिएको मात्र भन्न मिल्ने खालको छ । विहीबार नेप्सेमा भएको कारोबार रकममा पनि सामान्य सुधार आएर २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपियाँ बराबरको एक करोड ३० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । साताको अन्तिम दिनको कारोबारलाई उपसमूहबाट हेर्दा नेप्सेमा कारोबार हुने १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढनुले पनि बजार सकारात्मक दिशातर्फ मोडिएको संकेत दिएको छ ।


नेप्सेको अबको यात्रा कता भन्ने विषय अहिलेको लागि अहम नै भएकोले बजार माथि जानसक्ने र तल ओर्लन सक्ने आधारहरु केलाउनु जरुरी हुन्छ । बजारमा सामान्य करेक्सनहरु आए तापनि लामो अवधिका लागि भने बजारमा बुलिस यात्रामा नै रहेको कुरामा भने सबै झै विश्लेषकहरु सहमत देखिएका छन ।

बजार माथि जानसक्ने आधारहरु


लगानीकर्ताको सङ्ख्या र त्यसमा पनि प्राथमिक सेयरमा लगानी गर्नेहरु ह्वात्तै बढेको कारण सानो कित्ता नै भए पनि प्राथमिक सेयरमा परेको सेयर विक्रीका लागि हाल मुलुकभरका प्रमुख स्थानहरुबाट कारोबार त्यति सहज छैन ।

लगानीकर्ताहरु प्राथमिक सेयरमा परेको सेयर दोस्रो बजारमा विक्री गर्ने मात्र होइन थप लगानी गर्ने मनस्थितिमा रहेका बेला मुलुकका प्रमुख आर्थिक कारोबार हुने सहरहरुबाट सेयरको कारोबार सहज बनाउन ब्रोकरहरु सक्रिय हुन थालेको अवस्था छ । विगतमा कारोबार उच्च नहुुनुले शाखा विस्तारमा खासै रुचि नदेखाएका ब्रोकरहरु अब भने कारोबार उच्च हुने सम्भावना देखेर शाखा विस्तारमा सक्रिय हुन थालेका हुन ।

त्यसको अतिरिक्त बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय थाँती नै रहेका बेला शाखा विस्तार गर्दै मुलुकभरको प्रमुख आर्थिक कृयाकलाप हुने क्षेत्रका सम्भावित लगानीकर्ता आफ्नो पक्षमा पारिहाल्न ब्रोकरहरु आतुर रहेको अवस्था हो अहिले । यसलाई बजारको सन्तुलित विकास र नेप्सेमा सेयरका माग थप्न र बजार माथि जान सकारात्मक प्रभाव पार्ने खालको विषय मान्नु पर्छ ।

ब्रोकरको शाखा विस्तारका बारेमा धितोपत्र बोर्डले देखाएको सक्रियता र त्यसलाई नेपाल स्टक एक्सचेन्जले आफ्नो अधिकार खोसिएको रुपमा लिनुलाई भने सघै झै नेप्से र धितोपत्र बोर्डबीच समन्वयको अभावको रुपमा लिन सकिन्छ । ब्रोकरका कार्यालयहरु मुलुकभर फैलनुले आगामी दिनमा बजारमा समग्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।


नेपाली वित्तीय बजारमा तरलताको मात्र पर्याप्त नै रहेको तथ्याङ्कहरुले देखाएको छ । जसले सस्तो व्याजदरको रकम उपलब्ध भइ रहनुले बजारलाई थप गिरावट हुनबाट जोगाउने मात्र होइन बजारमा माथि जाने आधार पनि बन्न सक्छ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमास समाप्त भइ नेप्सेमा सूचीकृत कम्पनीहरुको प्रतिवेदन सार्वजनिक हुने क्रम बढेको छ ।

हालसम्म प्रकाशित कम्पनीहरुको प्रगति हेर्दा सन्तोषजनक नै रहनुले घटेको बजारमा राम्रो प्रगति गर्न सफल कम्पनीहरुको सेयर खरिद गर्न लगानीकर्ताका् मनोबल उच्च पार्न मद्दत पुग्ने विश्वास गर्न सकिन्छ जसले बजारलाई सकारात्मक प्रभाव पार्न सक्छ ।


नकारात्मक पक्ष


कोभिडको सङ्क्रमण बढदै जाने हो र त्यसले आर्थिक कृयाकलापमा ल्याउन सक्ने सिथिलताले भने बजारमा नकारात्मक प्रभाव पार्न सक्छ । ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु ब्यवसाय नचल्ने अवस्थामा भएको सेयर विक्री गर्दै आवश्यक रकमको जोहोमा लाग्ने अवस्थाले बजारमा सेयरको विक्रीका लागि आपूर्ति बढने अवस्था र नयाँ लगानीकर्ता पनि बजार थप घटने आशामा पर्ख र हेरको अवस्थामा हुनसक्ने परिस्थिति भने बजारका लागि नकारात्मक अवस्था हुन सक्छ ।


छोटो समयका लगानीकर्ताले बजारमा मनग्य नाफा कमाउन सक्ने अवस्था नेप्सेमा विगतमा भएको बढोत्तरीले दिएको अवस्था हो । अहिले यस्तो अवस्थामा कोभिडको बढ्दो सङ्क्रमणमा नाफा बुक गर्ने कारोबारीहरु हावी हुने हो भने त्यसले बजारमा सेयरको आपूर्ति बढाएर बजारलाई नकारात्मक असर पार्न सक्छ ।


नेप्सेमा सूचीकृत उपसमूहरु मध्ये जलविद्युत समूहका निर्माणाधिन कम्पनीहरुको निर्माण कार्य कोभिडका कारण प्रभावित हुन सक्ने खतराले हाल सञ्चालिन बाहेक सो समूह निर्माणाधित कम्पनीहरुको सेयरमा नकारात्मक प्रभाव पार्न सक्छ ।

त्यसैगरी पर्यटन क्षेत्रमा गतबर्षदेखि नै आएको सिथिलतामा पनि धानिएको सो समूहको सेयर यस बर्ष पनि कोभिडका कारण व्यवसायमा समस्या निम्तने खतराले खस्कन सक्ने देखिएको छ ।
समग्रमा नेप्से बुलिस यात्रामा नै रहेको र आर्थिक गतिविधिहरु सामान्य नै रहेको वर्तमान अवस्थामा आगामी दिनहरुमा कोभिड र मुलुकको राजनीतिले कस्तो रुप लिन्छ । त्यसले नै आगामी सेयर बजारका दिशा निर्धारणमा अहम भूमिका खेल्ने देखिन्छ ।