कोरोना भाइरसको कारण अस्पतालका निर्देशकको मृत्यु

उहानस्थित अस्पतालका निर्देशकको कोरोना जीवाणुको कारण मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।

झिमिङ कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा। ली वेनलियाङको मृत्यु भएको थियो ।

Advertisement