May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा ‘हेडवर्क्स’ निर्माण अन्तिम चरणमा

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पठाउनका लागि बनाइएको ‘हेडवर्क्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisement

विद्युतीकरणको र केही सामाग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवर्क्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो ।

कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले ६ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवर्क्स’ को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार विदेशबाट ‘हाइड्रो मेकानिकल’ सामग्री आउन बाँकी छ । उनले भने, ‘बाहिरबाट आउनुपर्ने सामान आएपछि जोडेर सञ्चालन गरिनेछ ।’

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडवर्क्स’ निर्माण गरेको हो ।

आयोजना अन्तर्गत सुरुङ, हेडवर्क्स र सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्रको निर्माण भएको छ । सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएकाले सुरुङबाट पानी काठमाडौँ ल्याइएको छ ।

तत्कालका लागि ‘हेडवर्क्स’ सम्पन्न नभएकाले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको प्रवक्ता पन्तले जानकारी दिए । उनले भने, ‘अबको केही महिनामा नै हेडवर्क्स सम्पन्न भएर त्यसबाट पानी पथान्तरण गर्न सकिनेछ ।’

यही फागुन १० गते अम्बाथानबाट पानी सुरुङभित्र पठाइएकामा शनिबार सुन्दरीजल आइपुगेको छ । अबको केही दिनसम्म सुरुङ परीक्षण गर्ने आयोजनाले जनाएको छ ।

सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए ।

सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उनले बताए । ठूलो चुहावट नभएमा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।’ उनले भने ।