May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्रदेश नं २ को नामकरणका लागि प्रदेशसभा बैठकमा पाँच प्रस्ताव पेश

जनकपुर-  प्रदेश नं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश गर्नुभएको हो ।

Advertisement

बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ ।

बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा अर्का सत्तारुढ दल नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा प्रदेश’ नामको प्रस्ताव पेश गर्नुभएको छ ।

कांग्रेसकै राजेश्वरप्रसाद साहले भने ‘मध्य मधेश प्रदेश’ नामको प्रस्ताव गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन । नामकरण सम्बन्धी पेश भएको प्रस्तातमाथि प्रदेशसभा बैठकमा छलफल जारी छ ।

बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।