May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।

Advertisement

मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानबमोजिम अघि बढ्ने बताए। ‘संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। जसअनुसार म विश्वासको मत फेस गर्छु, राजीनामा दिन्नँ’, उनले भने।

मुख्यमन्त्री आचार्यले संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे। उनले आफू काम गर्ने मान्छे भएको बताउँदै त्यसैले काम चाहने साथीहरूको समर्थन पाउने विश्वास पनि व्यक्त गरे।

मुख्यमन्त्रीमाथि एक सातामै संकट

नेकपा एमालेका १० सांसदले विभाजित बनेको नेकपा एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ।

माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो। तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका कारण उनको सरकार बनेको एक महिना पनि नटिक्ने देखिएको छ।

आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारी दिनेसहितका विभिन्न ‘अफर’ गरेका थिए। तर, उनको प्रभावमा सांसदहरु परेनन्।

१० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार एक हप्ता मै अल्पमतमा परेको छ। प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन्।