May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले विभाजनको असर- भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । आजै एमाले संसदीय दलको बैठक बसी भीम आचार्यलाई चयन गरिने भएपछि मुख्यमन्त्री बन्ने भएका हुन् ।

Advertisement

नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेको छ । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

आचार्यलाई संसदीय दलको नेता बनाउन मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गर्ने भएका छन् । त्यसपछि उनलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई निवेदन दिइनेछ । एमालेको प्रदेश १ मा अहिलेसम्म बहुमत छ । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ मा स्थिति परिवर्तन भएको छ । त्यस अगावै आचार्यलाई मुख्यमन्त्री बनाएर सरकार बचाउन खोजिएको छ ।

विगतमा माधवकुमार नेपालको पक्षधर आचार्य एमालेमै रहने निर्णयमा पुगेका छन् । उनको यो निर्णयपछि मुख्यमन्त्री दिइएको बुझिएको छ । यसअघि बागमती प्रदेशमा पनि माधव नेपालको साथ छाडेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।