May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमविरुद्ध पूर्वतयारी थाल्न निर्देशन दिनुभएको छ । पूर्वी सुर्खेतको मेहलकुना अस्पतालको आज निरीक्षण गर्दै उहाँले स्थानीय तह र स्वास्थ्य संस्थाले महामारी फैलिनु अगावै पूर्वतयारीका कार्यहरू सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

Advertisement

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगङ्गा नगरपालिकाको छिन्चुमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । “तीनवटै तहका सरकारहरूले सङ्क्रमण फैलिनु अगावै आपसी सहकार्य गरेर कार्ययोजना बनाऔँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले बजेट र जनशक्ति अभाव हुन दिँदैन । स्थानीय व्यवस्थापन र स्वास्थ्य सतर्कता अपनाउन पहिले कार्ययोजना तयार पारौँ ।”

मुख्यमन्त्री शाहीले सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुमपश्चिम र डोल्पामा अक्सिजन अभाव हुन नदिन मेहलकुना अस्पतालमा ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको बताउनुभयो । कर्णाली प्रदेशमा सुर्खेतका दुई स्थान, दैलेख, रुकुम पश्चिम, कालीकोट र जुम्लामा ठूलो क्षमतामा अक्सिजन उत्पादन हुने भएकाले यसको अभाव नहुने उहाँको भनाइ थियो ।

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र औषधिजन्य उपकरणले सुविधासम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई पूर्णता दिन पनि माग गर्नुभयो ।